काठमाडौं । पाका फिल्म निर्माता, निर्देशक तथा अभिनेता नीर शाहले प्रस्तावित फिल्म विधेयकप्रति आपत्ति जनाउँदै यसले चलचित्र क्षेत्रलाई धरासायी बनाउने बताएका छन् । निर्माता संघको वार्षिक साधारणसभामा बोल्दै शाहले यो विधेयकले बोर्डमाथि मन्त्रालयको हस्तक्षेप अझै बढ्ने बताए ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डको अधिकार खोस्न खोजेको भन्दै शाहले बोर्डलाई स्वायत्तता दिनुपर्नेमा जोड दिए । ‘हामी प्रशासकीय चालबाजी र षड्यन्त्रभित्र चलचित्र उद्योगलाई सुरक्षित देखिरहेका छैनौं । यो विधेयकले मन्त्रालयको हस्तक्षेप बढाउँछ । त्यसैले विधेयकलाई चलचित्रसँग सम्बन्धित सबै संघसंस्थाले डस्टबिनमा फ्याँकिदिएका छन्,’ उनले भने ।
उनले स्वतन्त्र चलचित्र आयोग बनाउन सरकारलाई सुझाव दिए । बोर्डको उद्देश्य र भावना बाहिर गएर भुवन केसी नेतृत्वको बोर्डले काम गरिरहेको शाहको आरोप छ । ‘चलचित्रकर्मीको भावनाबाहिर गएर यसबाट डगमगाए तपाईं बसेको कुर्सी पनि अस्थायी हो । होइन भने तपाईंलाई स्थापित गरेको कुर्सीबाट चलचित्रकर्मीले विस्थापित पनि गरिदिन्छन्,’ शाहले भने ।
बोर्ड अध्यक्ष केसीले आफ्नो सल्लाह नसुनेको गुनासो गर्दै शाहले यस वर्षको सुरुवातमा बोर्डको प्रमुख सल्लाहकार पदबाट राजीनामा दिएका थिए । त्यसयता यी दुईबीचको सम्बन्ध चिसिएको अनुमान भइरहेका छन् । शाहले बोर्डको कार्यशैली नसुध्रिए सडक आन्दोलन गर्ने चेतावनी समेत दिए ।
बोर्ड अध्यक्ष केसीले बोर्डलाई स्वायत्त बनाउन नै आफू बोर्डमा आएको बताएका थिए । ‘चलचित्र विकास बोर्ड स्वायत्त बनाउन नै म चलचित्र विकास बोर्डमा आएको हुँ । विगत ४० वर्षअघि देखिको ऐन अहिलेसम्म किन पास भएको छैन ? म पदका लागि होइन, चलचित्रकर्मीको लागि हुँ । जागिर खान होइन । यदि कोही व्यक्ति भोलिको दिनमा आएर कसैले भुवन केसी यहाँबाट गएपछि ऐन एक महिनामा पास गर्छु भनोस्, म अहिले नै जागिर छोड्न तयार छु,’ उनले भने ।